आफु मरेर बचाए १० वर्षे बालक

केही दिन अगाडीमात्र अस्ट्रेलियामा एक नेपाली विद्यार्थी समुन्द्री किनारमा मृत भेटिएको थियो । विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे बिहिबार देखि हराईरहेका थिए ।

उनको निधन शंकास्पद मानिएको थियो तर उनले आफुले हेरचाह गर्दे आएको १० वर्षे बालकलाई समुन्द्रमा बचाउने क्रममा ज्यान गएको छ । २२ वर्षे निश्चलले अटिजमबाट ग्रसित बालक केभिन म्याघसुदीलाई बिहिबार समुन्द्रमा लगेका थिए । उनलाई अन्तिम पटक बिहिबार बेलुकी चार बजे देखिएको थियो ।

पछि शुक्रबार उनको शव फेला परेको थियो । न्यूज डट कम डट एयुका अनुसार उनले ६ महिनादेखि ती बालकको हेरबिचार गरिरहेका थिए । केभिनकी आमाले रुँदै निश्चल आफनो परिवारको सदस्य जस्तै भएको र उनको निधनले आफु मर्माहित भएको बताएकीछिन् ।

उनले आफनो छोरालाई बचाउँदा निश्चलको ज्यान गएको भन्दै निकै रोईन् । उनी भन्छिन् “उनले मेरो छोराका कारण आफ्नो ज्यान गुमाए । उनले केभिनको जीवन बचाए” । निश्चलले केभिनको जीवन बचाउँन आफनो ज्यान त्यागेको भन्दै उनलाई हिरोको संज्ञा दिईएको छ ।

केभिनकी आमाको अनुसार केभिन र निश्चलको सम्बन्ध निकै गहिरो थियो । उनीहरु हरेक समय एकसाथ हुने , संगै घुम्ने , संगै हिड्ने र खाने गर्दथे । उनी भन्छिन् ‘‘उनको केभिनसँग निकै राम्रो सम्बन्ध थियो । निकै राम्रा केयर गिभर । उनले केभिनलाई बुझ्थे र म उनीसँग अत्यधिक खुसी थिएँ ।

उनी हाम्रो परिवारजस्तै थिए । केभिनले पनि उनलाई निकै माया गर्दथ्यो । ‘मलाई अत्यन्त दुःख लागेको छ । यो मेरो लागि निकै गाह्रो समय हो ।” निश्चलको मृत्युले अष्ट्रेलियास्थित नेपालीहरुमा दुख थपिदिएको छ । काठमाडौँ निवासी निश्चल अस्ट्रेलियास्थित इक्वेल्स इन्स्टिच्युटमा नर्सिङ विषयमा डिप्लोमा अध्ययन गरिरहेका थिए । उनको शव मंगलबार भित्र नेपाल ल्याउँने तयारी भईरहेको छ ।