बंगलादेशका क्रिकेट खेलाडी बने सांसद

भर्खरै पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेसंगै खेल जगतका धेरै हस्तीहरुले खुसी व्यक्त गरेका थिए । यतिबेला बंगलादेशमा एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा पनि सांसद बनेका छन् ।

हिजोमात्र सम्पन्न भएको चुनावमा उनी प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट उठेका थिए ।

उनको जीतसंगै यतिबेला उनले बधाई थापिरहेका छन् । डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय सिरिजअघि मुर्ताजाले चुनाव लड्ने घोषणा गरेका थिए। सोही घोषणा अनुसार उनी चुनावमा उठेका थिए ।

तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल (२ निर्वाचन क्षेत्रमा २ लाख ७१ हजार मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिष्पर्धी उम्मेदवारले ७ हजार ८ सय ८३ मतमात्र पाए। सांसद बन्ने मुर्ताजा बंगालदेशका दोस्रो क्रिकेट कप्तान हुन्।

यसअघि नइमुर रहमान दुरजाँय सांसद बनेका थिए। बहालवाला कप्तान सांसद बन्ने मुर्ताजा पहिलो हुन्। ३५ वर्षीय मुर्ताजा अहिले एक दिवसीय खेलमात्र खेलिरहेका छन्। चोटका कारणले उनले सन् २००९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।

उनले ३६ टेस्टमा ७८ विकेट लिएका छन्। उनले २०१७मा टि-ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए। 

सांसद बनेपनि उनले क्रिकेट खेल्ने बताएका छन्  । त्यो भए के उनले आफनो राजनितीक जीवन र क्रिकेटलाई संगै लान्छन् ? होईन उनले २०१९ को विश्वकपपछि मात्र  क्रिकेटबाट सन्यास लिने घोषणा गरेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन्।