अर्धभूमिगत रुपमा गतिविधि संचालन गर्दै आएको नेकपा माओवादी (विप्लब माओवादी)को ताम्सालिङ्ग जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।
जिल्लाको रोशी गाउँपालिका– ८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका – ९ मंगलटारका बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजिनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाईलीले बताएका छन् ।
जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराइएको भन्दै माओवादीले ध्यानाकर्षण भएको बताएको छ । अदालतको गलत फैसला बदर नभए शशक्त प्रतिरोध तथा भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।
कित्ता नम्वर २२९० को ०–१५–०–० र कित्ता नम्वर ७५९ को ६–८–१–३ को जग्गा बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नामबाट पुनः तेमाल गाउँपालिका – ५ निवासी सुर्यलालको श्रीमती कृष्णमाया तामाङ र सोहि ठाउँ बस्ने पुर्णबहादुर तामाङको श्रीमती दावा डोल्मा तामाङको नाममा जालसाजी पूर्ण तरिकाले पास गरिएको माओवादीले जारी गरेको म्यादमा उल्लेख गरिएको बताइएको छ ।