पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डको म्याग्दे गाउँपालिका २ गुणादीमा शनिबार राति मोटरसाइकलबाट खसेर एक युवतीको मृत्यु भएको छ ।
रिसिङ गाउँपालिका ७ की १८ वर्षीया प्रमिशा मगरको यसरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग११प ५५०२ नम्बरको मोटरसाइकलमा सवार मगर एक्कासि मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् ।
उपचारको लागि पोखरा लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मोटरसाइकल चालक व्यास ११ निवासी मदन अधिकारी प्रहरी नियन्त्रणमा छन् ।