ल्होसारमा हुम्लामा बिदा, गण्डकी प्रदेश खुला !

गण्डकी प्रदेश सरकारले तमुहरुको चाड ल्होसारको अवसरमा दिएको बिदामा गण्डकीका केही सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खुले । तर, कर्णाली प्रदेशको १ अस्पतालले भने ल्होसारमा सार्वजनिक बिदा दियो ।


गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरोज प्रजापतिले बताए । अस्पताल बन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन् । जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका छन् ।


प्रदेश सरकारको निर्णय संघीय सरकार अन्तर्गतका कार्यालयले मानेनन् । संघ अन्तर्गत रहेका जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, अन्य सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाले कार्यालय सञ्चालन गरेका हुन् ।


संघ मातहतमै रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने आइतबार बिदा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले प्रतिष्ठान संघ मातहत नै भए पनि प्रदेशको स्पिरिटलाई बुझेर बिदा दिइएको बताए ।