नयाँ वर्षको अवसरमा पर्यटकलाई एक सयमा कोठा

अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ ।

सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई छुट गरी कोठा दिने भएका छन् । सदरमुकामका १० होटलले रु १०० मा १०० कोठा उपलब्ध गराउने भएका छन् । समितिको अनुरोधमा कम रकममा कोठा दिन व्यवसायी तयार भएका हुन् । खाना, नास्तामा भने चल्तीकै दरमा कायम हुनेछ ।

नयाँ वर्ष मनाउन बाहिर जाने पर्यटकलाई जिल्लामै राख्ने उद्देश्यले यो व्यवस्था गरेकोे समितिका अध्यक्ष राजु खड्काले बताए । “थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन्” उनले भने, “जिल्लामै रमाउने वातावरण सिर्जना गर्न खोजका छौ ।” बाहिरी पर्यटक पनि नयाँ वर्ष मनाउन बागलुङ आउने अवस्थाको सिर्जना गरेकोे समितिले बताएको छ ।

बागलुङको पर्यटन प्रवद्र्धनमा कार्यक्रमले टेवा पुग्ने होटल व्यवसायी अर्जुन चोखालले बताए । “समिति र व्यवसायी मिलेर एउटा सन्देश दिन खोजेका हौँ” उनले भने ” । पर्यटक भित्र्याउन नसके होटल व्यवसाय आपतमा पर्ने उनको भनाइ छ ।

पाहुनाको चाप भएमा अन्य होटल पनि छुटमा कोठा दिन तयार रहेका छन् । साङ्गीतिक साँझमा विभिन्न कलाकारको प्रस्तुति रहने जनाइएको छ । समितिले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ ।

सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा आशा जागेको समितिले बताएको छ । (रासस)