वीर गणेशमान स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनसीप अन्तर्गत पोखरामा शनिबारबाट छनोट खेल सुरु भएका छन् । छनोट समिति गण्डकी संयोजक विद्या मर्सानीले माघ २५–२८ गतेसम्म हुने राष्ट्रिय स्तरको प्रतियोगिताका लागि प्रदेश अन्तर्गत छनोट सुरु भएको बताए ।
प्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, तनहुँ र गोर्खाका महिला तथा पुरुष खेलाडी २५ जनाको सहभागिता छ । प्रतियोगीले ४८, ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने छन् ।
शनिबार भएको ५६ केजी पुरुषतर्फको खेलबाट बागलुङका दूधप्रसाद परियार छनोट भएका छन् । उनले कास्कीका अनिश दर्जीलाई पराजित गरेका हुन् । ६० केजी पुरुषमा नवलपुरका छवि राणा बोहरालाई हराउँदै कास्कीका जेनिश गुरुङ छनोट भए ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद कोषाध्यक्ष शैलेस कर्माचार्यले उद्घाटन गरेका थिए ।