सकुन ज्ञवालीको ‘भन्दिनु है बा’ सार्वजनिक

हाल अमेरिकाको न्युयोर्कमा रहेकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा ! “ बजारमा आएको छ । चर्चित लोकगायिकसमेत रहेकी उनको कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार लोकार्पण गरेका हुन् ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा कुलपति उप्रेती, नेपाल सरकारका सचिव मोहनकृष्ण सापकोटा, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार दामोदर पुडासैनी, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा. खगेन्द्रप्रसाद लुइटेल, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, साहित्यकारहरु गीता मैनाली, उपाध्यक्ष गिरी लगायतले बोलेका थिए ।

समारोहमा अनेसास न्युयोर्क च्याप्टरले प्रकासन गरेको “भन्दिनु है बा ! “ कविता सङ्ग्रहबाट केही कविता वाचन पनि गरिएको थियो । समारोहमा गायिका कमला रिसाल विकले गीत गाएकी थिइन् भने साहित्यकार सुमन वर्षाले सञ्चालन गरेकी थिइन् ।


समारोहमा साहित्यकारहरु ललिता दोषी, सविता गौतम दाहाल, उषा तिवारी लगायतलाई अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रम अनेसास बागमती समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा भएको थियो ।

कवि शकुन कविता, मुक्तक, गीत र गजल लेख्छिन् । । उनका पालुवा र मन्जरी, तिमी र म जस्ता कविताका कृति यसअघि नै प्रकाशित भएका छन् भने दर्जनौं गीति एलबम पनि निस्किएका छन । उनी अनेसास न्युयोर्क च्याप्टरकी उपाध्यक्ष हुन् ।