टेनिसका ३ समूह फाइनलमा

नेपालका शीर्ष वरियता खेलाडी कमल भण्डारी र गोरखाका राजु श्रेष्ठ पोखरामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधिका लागि भिड्ने भएका छन् ।


कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा कमलले छेवाङ लामालाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले महेश श्रेष्ठलाई ६–२, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।


४५ वर्ष माथिको एकलतर्फको उपाधिका लागि चिर परिचित प्रतिद्वन्द्वी धरमबहादुर लामिछाने र विमल गुरुङ भिड्ने भएका छन् । धरमले अनु जोनलाई ६–४, ७–६ ले तथा विमलले विकाश गुरुङलाई ४–६, ६–१ र सुपरटाइमा १०–४ ले पराजित गर्दै धरमसँगको प्रतिस्पर्धा सुनिश्चित बनाएका हुन् ।


५५ वर्ष माथिको एकलफर्त प्रदीप शाहले अनिल तुलाचनलाई ६–२, ६–३ ले पराजित गरेका छन् । ४५ वर्षमाथिको डबल्सफर्त धरमबहादुर लामिछाने र बिमल गुरुङको जोडीले फाइनलमा स्थान बनाएको छ । मनोज राणा र आशिष सिग्देलको जोडीलाई ६–१, ६–४ ले पराजित गर्दै लामिछाने जोडीले फाइनलमा स्थान बनाएका हुन् ।