विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राहरुले समस्या भोग्नु परेको र विद्यालय समेत छाडने अवस्था सृजना हुने गरेको भन्दै पोखरा महानगर भित्रका शैक्षिक संस्थाहरुलाई सेनेटरी प्याडयुक्त बनाउने अभियान सञ्चालन गरिएको थियो ।
रजस्वला महिलामा हुने प्राकृतिक अवस्था भएकाले विद्यालय गएका छात्राले प्याड नहुने र आफ्नो समस्या बताउन अप्ठेरो मान्ने भएकाले विद्यालय छाडेर हिँड्ने गरेका धेरै उदाहरण छन् । अब विद्यालय गएका छात्राहरुलाई विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराइने भएको छ ।
पोखरा ८ भित्र रहेका सम्पूर्ण विद्यालय सेनेटरी प्याड युक्त वडा घोषणा गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नम्वर ८ भित्र सञ्चालित २ सरकारी र १६ निजी विद्यालयलाई प्याड युक्त घोषणा गरेकी हुन् ।
कार्यक्रममा उपप्रमुख गुरुङले रजस्वला प्राकृतिक र सामान्य तथा स्वभाविक प्रक्रिया भएको बताइन् । उनले भनिन्, ‘रजस्वला प्राकृतिक नियम हो, त्यसैले यसलाई नकरात्मक दृष्टिले हैन सकरात्मक रुपमा लिनुपर्छ ।’ उनले नेपालमा अझै पनि धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा नकरात्मक रुपमा लिने गरिएको बताइन् ।
सेनेटरी प्याडयुक्त अभियानकी अभियन्त सुष्मा पौडेलले पहिले कास्कीका सम्पूर्ण विद्यालयलाई सेनेटरी प्याडयूक्त बनाउने अभियान सुरु गरेको र पछि महानगरले पनि साथ दिएको सुनाइन् । ‘सबै विद्यालका शौचालयमा प्याड व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आएका छौं । अहिले अभियान सफल हुने क्रममा छ,’ उनले भनिन्, ‘प्याडसहित विद्यालयले सफा शौचालय, खानेपानीको समेत व्यवस्था गनुपर्छ ।’
कार्यक्रममा वडा भित्र रहेका विद्यालयलाई सेनेटरी प्याड राख्ने बक्सा,सेनेटरी प्याड, साबुन लगायतका सामाग्री विद्यालयका प्रतिनिधिहरुलाई उपप्रमुख गुरुङ र वडा अध्यक्ष रुद्रनाथ बरालले हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा सदस्य किरण गौतम, वडा सदस्य कृष्णमान ठुसाजु, जनप्रिय माविका प्रधानाध्यापक बाबुराम पौडेल, शालिकराम अधिकारी लगायतले बोलेका थिए ।