धेरैले मन पराउने महिला बनिन्:मिसेल

अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामा धेरै अमेरिकनले मन पराउने महिला बनेकी छन् ।

 १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल पहिलो नम्बरमा पुगेकी हुन् ।

गलुप संस्थाले हरेक वर्ष सर्वेक्षण गरेर संसार भरिका कुन महिला र पुरूष तपाईंलाई धेरै मन पर्छ भनी अमेरिकनलाई सोध्ने गर्छ । सन् १९७६ बाहेक हरेक वर्ष उसले धेरै अमेरिकनले मन पराएका पुरूष र महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।

यो वर्ष डिसेम्बर ३(१२ सम्म यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा मिसेलले १५ प्रतिशत मत पाएकी थिइन् भने दोस्रो नम्बरमा रहेकी अर्फान विन्फ्रेले ५ प्रतिशत मत पाइन् ।

१७ वर्षसम्म सूचीको पहिलो नम्बरमा रहेकी हिलारी यस वर्ष तेस्रो नम्बरमा परेकी छन् । उनले ४ प्रतिशत मत पाएकी छन् । उनको र प्रथम महिला मेलानिया ट्रम्पको मत बराबर छ ।

धेरैले मन पराउने पुरूषहरूको सूचीको पहिलो नम्बरमा पूर्वराष्ट्रपति बाराक ओबामा छन् । उनी लगातार ११ वर्षदेखि यो सूचीमा रहँदै आएका छन् ।

उनले १९ प्रतिशत मत पाएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो नम्बरमा छन् उनको मत १३ प्रतिशत छ ।