अजेय राजको ८४ करोड रुपैयाँ फुकुवा

राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेय राज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलि दिएको छ ।

उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगरिदिन भनेकोे हो ।

सर्वोच्चको यो आदेशपछि सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) फुकुवा भएको जानकारि भएको छ ।

उद्योगको खातामा रहेको रकम उसको आवश्यकता र समय तालिका बमोजिम माग गरेका बखत भुक्तानी दिनू, दिलाउनु र सो सम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नु नगराउनू’ आदेशमा भनिएको छ ।

यो आदेश अनुसार मुद्दामा पुन :छलफल हुने भए पनि रकम खोलि सकेकाले त्यसको खासै अर्थ नहुने कानुन विद्हरूको भनाइ छ ।

यसअघि पनि सुमार्गीको अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकमका नाममा रोक्का रहेको करिब २ अर्ब २० करोड रुपैयाँ रकम सर्वोच्चको अन्तरिम आदेशबाटै फुकुवा भइसकेको थियो ।

अन्तरिम आदेशबाट रकम फुकुवा गरेको सर्वोच्चले मुद्दाको विस्तृत सुनुवाइ र फैसलामा भने तदारुकता देखाएको छैन ।

मुक्तिश्रीको रोकिएको रकम फुकुवा गर्न नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाई कम्पनीका तर्फबाट लोकबहादुर अधिकारीले रिट निवेदन दर्ता गराएका थिए ।

सुमार्गीका कम्पनीमा आएको उक्त रकमको स्रोत नखुलेको र आवश्यक कागजात पेस नभएको भन्दै राष्ट्र बैंकले करिब ४ वर्षदेखि बैंकको खातामै रकम रोकिदिएको थियो ।

सुमार्गीका कम्पनीमा विदेशबाट ल्याइसकेको करिब १२ अर्ब रुपैयाँ र ल्याउन लागिएको रकम अवैध भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन गरिरहेको जानकारी गराइएको छ ।