१८ छोराछोरी भएको बस्तीमा २ सन्तानको रहर

कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखा परिन् । उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेकी हुन् ।

“धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उनले भनिन्, “दुई सन्तान, ईश्वरका बरदान हुन्, त्यसैले शिविरमा केही परामर्श पाइन्छ कि भनेर आएकी हुँ ।”

सिद्धि क्षेत्र निवासी गणेश लामाको चार वर्षीया छोरी छिन् । “धेरै सन्तान जन्माउने बस्ती भनेर पहिला चिनिन्थ्योे”, उनले भनिन्, “अब सानो परिवार भएको बस्ती भनेर चिनाउनै पर्छ, हामी जस्ता युवाले यो सन्देश दिन लागेका छौँ ।”

साविकको सिद्धि क्षेत्रमा एकै परिवारमा १८ जनासम्म बालबच्चा एउटै दम्पती भएका उदाहरण समेत छ ।

“नयाँ पुस्ता सानो परिवार बनाउने अभियानमा छन्”, आधारभूत विद्यालय कल्याण चौर प्रधानाध्यापक दिनेश प्रजाले भने, “ पहिला चेतना नभएकाले रोग लागेर मर्ने डरले धेरै सन्तान जन्माउने प्रचलन थियो तर यो अवस्थामा सुधार आएकोे छ ।

रेन्तेस गाउँका अगुवा मानबहादुर प्रजा परिवार नियोजन गर्न नमान्ने समुदाय सचेत बन्दै जान थालेको बताए । “थोरै सन्तान चाहने दम्पती धेरै छन्, वडा तहमै परिवार नियोजनबारे सेवा दिन सके अझै कमी आउने थियो”, उनले भने, “बन्ध्याकरण गर्न भरतपुर जाँदा निकै सास्ती खेप्नुपर्छ, बेलाबखत गाउँमा हुने शिविरले त्यहाँसम्म जान सहज भएको छ ।”

नेपाल परिवार नियोजन सङ्घका सदस्य निर्मल पौडेलले शिविरमा १६ महिलाले स्थायी बन्ध्याकरण तयार बताए ।

सो अवसरमा ४० जनाले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । “जोखिम अवस्था भेटिएन, सामान्य संक्रमण हुने धेरै आए”, विपी मेमोरिल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभागका वरिष्ठ नर्स अयोध्या पाठकले भने, “बेलाबखत स्वास्थ्य जाँच गर्न नपाएको गुनासो गर्ने धेरै थिए, शिविरलाई अभियानका रूपमा चलाउन सके सम्भावित जोखिम कम गर्न सकिनेछ ।”