निर्यात हुने वस्तु उत्पादनमा जोड


संयुक्त राष्ट्रसंघको जेनेभास्थित नेपाली दूतावासका स्थायी प्रतिनिधि मीना अर्यालले तुलनात्मक लाभका निर्यात योग्य वस्तुको उत्पादनमा निजी क्षेत्र अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

उनले नेपालको व्यापार घाटा बढ्दै गएको सन्दर्भमा अति कम विकसित राष्ट्रको रुपमा नेपालले पाउँदै आएको सहुलियत प्रयोगमा बढावा दिनु सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रभावकारी बनाउनु पर्ने सुझाव समेत दिइन् ।


पोखरा उद्योग वाणिज्य संघमा बिहीबार भएको छलफल कार्यक्रममा अर्यालले तदर्थवादको संस्कारले गर्दा भएका निजीगत निर्णय समेत कार्यान्वयन हुन नसक्दा नेपालको निर्यात व्यापार खस्केकोमा उनी सहमत देखिइन् । उनले यहाँका हस्तकला लगायतका उत्पादनको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि आफूले सहयोग गर्ने वचन वद्धता पनि व्यक्त गरिन् ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हस्तकलाका सामानमा समेत मूल्य अभिवृद्धि कर थोपरिँदा यहाँका उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासो गरे । उनले साना उद्यमीबाट उत्पादित सामान निर्यातको लागि सरकारले नै पहल गर्नुपर्नेमा पनि जोड दिए ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अदुवा निकासीमा पनि समस्यम झेल्न बाध्य नेपाली किसानको समस्या राज्यबाटै सम्बोधन हुनुपर्नेमा जोड दिए ।उनले नेपाली सामानको उपभोग गर्ने बानीको विकास देशभित्र पनि आवश्यक रहेको औंल्याए ।

संघका महासचिव अर्जुन पोखरेलले हाम्रा उत्पादनहरुको गुणस्तर मापन र प्रमाणिकरणको लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

रेम्बो हेन्डिक्राफ्टकी गोमा ढकालले आधुनिक मेसिनको अभावमा यहाँको हस्तकलाले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासो गरिन् । लागत कम गर्ने खालका प्रविधि राज्यबाट अनुदान मार्फत उपलब्ध हुनुपर्नेमा जोड दिइन् ।