बालुवा, गिट्टी बेचेर अस्पताल चलाउँदै गाउँपालिका

जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको बिक्रीको आम्दानीबाट सामुदायिक अस्पताल बनाउने भएको छ । गाउँ कार्यपालिकाको बैठकले नदी जन्य वस्तुको बिक्रीबाट लगाएको बिक्री करबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको बिक्रीबाट गाउँपालिका–६ तिलाहारमा सामुदायिक अस्पताल बनाउने निर्णय भएको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि गाउँपालिका भित्रका नदीमा नदीजन्य वस्तुको उत्खननमा कर लगाएको छ । नदीजन्य वस्तुको बिक्री गरी भएको आन्तरिक आम्दानीबाट गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय भएको अध्यक्ष लामिछानेले बताए ।

हाल सञ्चालन भइरहेको ख्यान्जु क्लिनिकलाई अस्पतालको रुपमा विकास गर्ने यसअघि नै गाउँपालिका र क्लिनिक बीच सहमति भइसकेको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने भवन निर्माणका लागि आन्तरिक आयको रकम खर्च गर्ने कार्यपालिकाको बैठकमा निर्णय भएको हो ।

गाउँ कार्यपालिकाको गत सोमबार बसेको बैठकले नदीजन्य वस्तुको उत्खननका लागि कार्य विधिसमेत संशोधन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाभित्र रतिखोला, मोदीखोला र पातिखोला रहेका छन् ।

यो गाउँपालिकाका ती खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न सकिन्छ । यसअघि जिल्लाको कुश्मा, जलजला र फलेवास नगरपालिकाले ढुङ्गा गिट्टी उत्खनन गरी आम्दानी गर्दै आएका छन् ।