बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आएका छन् ।
तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उनले भण्डारण गृह निर्माण गरेका हुन् ।
“अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले बिक्री गछौँ,” उनले भने । भण्डारण गृहमा १० टनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ ।
सुन्तलाको गुणस्तरका आधारमा छुट्टाछुट्टै राख्न मिल्छ । “बेमौसममा सुन्तलाको माग अत्यधिक हुन्छ, त्यसैले भण्डारण गृह निर्माण गरेको हुँ,” खड्काले भने । माटो, बालुवा र गिटीबाट निर्माण गरिएको भण्डारण गृहमा चार महीनासम्म सुन्तला भण्डारण गर्न सकिन्छ ।
सुन्तला भण्डारणका लागि भण्डारण गृह निर्माण गर्ने लहरै चलेको छ । बिऊका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, दमेकका मणिभद्र सापकोटालगायतले भण्डारण गृह निर्माण गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले बागलुङको काठेखोला गाउँपालिकाको बिऊ र बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डेलाई सुन्तला जोनमा समावेश गरेको छ ।