नयाँ वर्षमा महोत्सवबाट स्वागत गर्दै लेकसाइड

व्यक्तिगत पहुँच र विकासका नाममा चौतारा मासिने क्रम चुलिएका अवस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाईडस्थित चालिस चौतारा युक्त बाटोमा बीसौं संस्करणको सडक महोत्सव हुने भएको छ ।

फेवाताल किनाराको तीन कि.मि. दुरीमा यति धेरै चौतारा रहेको सडकमा रेस्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल( रेवान) पोखराले पुस १३ देखि १७ गतेसम्म अंग्रेजी नयाँ बर्षको (डिसेम्वर २८ देखि जनवरी १ गतेसम्म ) सडक महोत्सव गर्न लागेको हो ।


सहिद चोकस्थित ऐतिहासिक महत्वको चौतारादेखि डिहिको पाटनसम्मको तीन किलोमिटर लम्वाईको सडकमा अहिले पनि साना ठूला गरि ४० वटा चौतारा रहेका छन् । अन्य समयमा होस वा महोत्सवका अवसरमा आन्तरिक एवम् बाह्रय पर्यटकको प्राकृतिक विश्रामस्थल बन्ने गरेका यी चौतारामध्ये कति पय त सडकको बीच भागमा ट्राफिक पोष्ट एवम् मोटरसाईकल पार्किङका रुपमा समेत काम गरेको स्पष्ट देख्न सकिन्छ ।


प्रदेश सरकारले आप्mनो बार्षिक नीति तथा कार्यक्रममा चौताराको संरक्षणलाई प्राथमिकता दिनुका साथै बजेट पनि विनियोजन गरेको छ । फेवातालको किनारास्थित तीन किलोमिटर सडकको सहिदचोक, बसुन्धरापार्क, अम्वोट, गौरीघाट, बाराहीघाट, मिडप्वइन्ट, हल्लनचोक र डिहिको पाटन क्षेत्रमा बर्षौदेखि रहेका चौतारा अझै पनि सुरक्षित देखिनु लेकसाइडको विशेषता हो ।


सडक महोत्वमा आउने आन्तरिक तथा वाह्रय पर्यटकको अत्याधिक भीड लाग्ने गरेको र त्यस्ता अवस्थामा चौतारामा विश्राम मात्र नभई आनन्द लिने र विभिन्न समूहद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने थलोको रुपमा समेत विकास भएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले बताए ।


पोखरा शहर क्षेत्र भित्र २०५८ सालसम्ममा ६७२ वटा चौतार रह ेपनि हाल ह्वात्तै घटेर ३०० को हाराहारीमा आएको नागरिक अगुवा रामबहादुर पौडेलले बताए ।


रेवान पोखराका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेल(भीमसेन) ले सडक महोत्सवको पोखराको एउटा विशेष कार्यक्रमका रुपमा स्थापित भैसकेको बताउँदै लेकसाईडको तीन किलोमिटर क्षेत्रलाई समेटेर सडकमै खाउ, सडकमै रमाउँ भन्ने नाराका साथ यस वर्षको महोत्सव हुन लागेको जानकारी दिए ।