संसद बैठक सुरु, अब हुँदैन कुर्सी हानाहान

२०७१ माघ ५ गते दोस्रो संविधान सभाका नियमित बैठक र बहस चल्दै गर्दा संसद हल एकाएक रणमैदान बन्यो। तत्कालीन माओवादी नेतृत्वको गठबन्धनका संसदहरूले कुर्सी, सोफा, माइक जे भेट्छन् उचाल, पछार गर्न उत्रिए।

सांसदहरूले आफू बस्ने कुर्सी उचालेर तोडफोड मात्रै गरेनन्, तत्कालीन सभामुख सुभास नेम्वाङलाई लक्षित गर्दै आक्रमणको प्रयास पनि गरे। रोष्टम अगाडिको सुरक्षा घेरा तोड्ने क्रममा संसद हल कोलाहल र हानाहान गर्ने युद्ध मैदान जस्तै बन्यो।

संविधानका अन्तरवस्तुमा सहमति खोज्ने क्रममा तत्कालीन एमाले र कांग्रेसलगायतका दलले बहुमतको आधारमा अगाडि बढ्न खोजेको भन्दै एमाओवादी नेतृत्वको गठबन्धनले संविधासभा भवनमा ताण्डव प्रस्तुत गरे।

त्यसो त संसदीय अभ्यासमा संसद सधैं प्रतिपक्षको हुन्छ भन्ने गरिन्छ, सरकारले बाटो बिरायो भने प्रतिपक्षले संसदमा सरकारलाई खबरदारी गर्न सक्छ। प्रतिपक्षको विरोधपछि सरकारले आफूलाई सच्याउने मौका पनि पाउँछ। तर नेपालको संसदमा सरकारको विरोध गर्दा भौतिक रुपमा नै सांसदहरु उत्रिएपछि संसदमा सुरक्षा चासो बढ्नु स्वभाविकै हो।

त्यही सुरक्षा चासोलाई मध्यनजर गर्दै संसद भवन नयाँ बानेश्वरको प्रतिनिधिसभामा अहिले नयाँ व्यवस्था गरिएको छ। वीरेन्द्र अन्तर्राष्टिय सम्मेलन केन्द्रको स्वामित्वमा रहेको भवन भित्र प्रतिनिधिसभा हलमा अब उक्काउन नमिल्ने कुर्सीको व्यवस्था गरिएको छ।

यसअघि सांसदहरुले आफू बसेको कुर्सी नै उचालेर प्रहार गरेपछि संसद सचिवालयले संसद भवनमा सांसदहरु बस्ने कुर्सी र टुवल चलाउन नमिल्ने गरी जडान गरेको हो। 
प्रतिनिधिसभा हलमा सांसदहरुका लागि व्यवस्था गरिएका कुर्सी र टेवल यसअघि चलाउन र निकल्न मिल्ने प्रकारका थिए। तर संसदको तेस्रो अधिवेशनमा भने सचिवालयले सांसदहरुका लागि व्यवस्था गरिएका कुर्सी र टेलव उक्काउन नमिल्ने गरी बनाएको छ।

‘यसअघि यहाँ केही अप्रिय घटना पनि भए,’ बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलनक केन्द्रका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले भने, ‘अब भने त्यस्तो अवस्था आयो भने पनि यी कुर्सी उक्काएर प्रहार गर्न मिल्दैन।’

प्रतिनिधिसभाका सांसद बस्ने गरेका र उक्काउन मिल्ने कुर्सीलाई त्यहाँबाट निकालेर त्यो ठाउँमा नयाँ उक्कान नमिल्ने कुर्सी र टेबलको व्यवस्था गरिनेको अमात्यले बताए।