सरकारविरुद्ध कडा संघर्ष गर्ने साविक माओवादी घटकहरुको चेतावनी

- सरकार महेन्द्रकालीन सांस्कृतिक चिन्तनबाट ग्रस्त

साविक माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल र यसमा आवद्ध घटकहरुले सरकारविरुद्ध कडा वैचारिक संघर्ष गर्ने उद्घोष गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा महेन्द्रकालीन पञ्चायती सांस्कृतिक चिन्तन हाबी भएको भन्दै मंगलबार उनीहरुले विज्ञप्ति निकालेका छन् ।


केही दिन पहिले सरकारले गंगाप्रसाद उप्रेतीलाई कुलपति र उपकुलपतिमा प्राडा जगमान गुरुङलाई नियुक्ति गरेको थियो । साविक माओवादी केन्द्रको जनसांस्कृतिक महासंघ नेपालले सिफारिस गरेका १ जना पनि नियुक्तिमा परेनन् ।


विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वको नाममा सामन्तवादको अभ्यास हामीलाई मान्य छैन ।’ विज्ञप्तिमा अखिल नेपाल लेखक संघ अध्यक्ष केशव सिलवाल, अखिल नेपाल जनकलाकार संघ अध्यक्ष कर्ण परियार विद्रोही, जनसांस्कृतिक महासंघ नेपाल अध्यक्ष सरल सहयात्री, अखिल नेपाल ललीतकला संघ अध्यक्ष देवेन्द्र थुम्केली, अखिल नेपाल चलचित्र संघ अध्यक्ष सबिन तोलाङ्गी, अखिल नेपाल नाट्यकर्मी संघ अध्यक्ष किशोर अनुराग छन् ।


प्रधानमन्त्री ओली निकट मानिने उनकै पालिकाका बासिन्दा उप्रेती यसअघि पनि कुलपति नै थिए । १ कार्यकाल उपकुलपति भइसकेको उनी प्रधानमन्त्रीकै चाहनामा कुलपति नियुक्त भएका हुन् ।