कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिएका थिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ।
तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्ली मार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।
सुन र दुई व्यक्ति पक्राउ पर्ने बित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए।
सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन् । भारतीय पक्षले यो सुन र पक्राउ परेका नेपालीमाथि अनुसन्धान गर्न दिल्लीको आदेश चाहिने जानकारी दिइसकेको छ।’
भारतीय पक्षको यस्तो सन्देशपछि गृहमन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत अनुसन्धानका लागि सहयोग गरिदिन भारत सरकारलाई सरकारलाई आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले दूतावास मार्फत भारतीय विदेश मन्त्रालयमा पत्र पठाएको छ। छानबिन समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव ईश्वर राज पौडेलले अनुसन्धानको पहल भइरहेको बताए।
फर्किंदैन सुन
गृह स्रोतका अनुसार भारतमा बरामद भएको सुन नेपाल फर्किने अवस्था छैन।
अनुसन्धानका लागि पक्राउ परेका नेपालीलाई ल्याउन पनि समस्या छ। त्यसैले यताबाट टोली पठाएर बयान लिने तयारीमा गृह लागेको छ।
गृहमन्त्री रामबहादुर थापाले परराष्ट्र मन्त्रालय मार्फत पहल गरिरहेका छन्। समिति पनि समातिएका नेपालीसँग बयान लिन सके सुनकाण्डमा मुछिएका दुई सय ९३ जनाबारे थप विवरण खुल्नेमा विश्वस्त छ ।