‘६० प्रतिशतको नेपाली बैंकसम्म पहुँच छैन’

नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकाम सम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ ।

सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पुर्‍याउने नीति अनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ ।

सोही बैंक मार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा चिरञ्जीवी नेपालले सो जानकारी दिँदै सबै जनतालाई बैंकिङ पहुँचमा ल्याउन बैंकले प्राथमिकता दिएको बताए ।

उनले भने, “अहिले पनि ६० प्रतिशत जनताको बैंकसम्म पहुँच नै छैन ।” गर्भनर नेपालले पूँजी बजारलाई गतिशीलता दिई वित्तीय स्थायित्व प्रदान गर्न नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई निर्देशन दिएको जानकारी दिँदै बैंकलाई निक्षेपको ब्याजदर बढाउन राष्ट्र बैंकले नैतिक दबाब दिएको बताए ।

पूँजी बजार लगायत समग्र वित्तीय सुधारका लागि वित्तीय सुधार समन्वय समितिले दिएका ५८ बुँदे सुझावलाई बैंकले कार्यान्वयनमा ल्याएको उहाँले बैठकमा जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयका सचिव राजन खनालले पूँजी बजार, मुद्रा व्यवस्थापन र दीर्घकालीन स्रोत व्यवस्थापनमा अर्थ मन्त्रालयको ध्यान दिएको चर्चा गर्दै पूँजी बजार लगायत समग्र वित्तीय सुधारका लागि वित्तीय सुधार समन्वय समितिले दिएका ५८ बुँदे सुझावलाई मन्त्रालयले कार्यान्वयनमा ल्याएको जानकारी दिए । (रासस)