सार्वजनिक जग्गामा बनेका छाप्रा भत्काइयो

पोखरा महानगरपालिका १८ ले सार्वजनिक जग्गामा बनाइएको संरचना सोमबार भत्काएको छ । वडा १८ स्थित हरे डाँडाको सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइएको हो ।

हरे डाँडा सामुदायिक वनको २ रोपनी जग्गामा हर्कबहादुर ढकालले तारबार गर्दै संरचना निर्माण गरेपछि वडाध्यक्ष रणबहादुर थापाले नगर प्रहरी लगाएर त्यहाँ बनाइएको संरचना र तारबार हटाएका हुन् ।

नगर प्रहरी, पत्रकार लगायतको टोली लिएर वडा अध्यक्ष नै सार्वजनिक जग्गामा बनाइएको संरचना भत्काउन पुगेका थिए । सार्वजनिक जग्गामा निर्माण गरिएका छाप्रा, तारजाली लगायतका संरचना सोमबार हटाइएको उनले बताए ।

ढकालले विगत ४ वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी घर निर्माण गरेको तर अहिले फेरि जग्गालाई तारबार गरी भाडामा दिने तयारी गरेपछि भत्काइएको वडाध्यक्ष थापाले जानकारी दिए । ‘सार्वजनिक जग्गामा संरचना बनाएको र अझै अतिक्रमण बढाएकाले भत्काएका हौँ ।’

अध्यक्ष थापाले महानगरले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण अभियान वर्षका रुपमा घोषणा गरे अनुुसार वडामा अभियान सञ्चालन गरिरहेको बताए । अध्यक्ष थापाले भने, ‘यहाँ जग्गा बढी अतिक्रमण भएको छ ।

अब अतिक्रमण रोक्छौँ।’ उनका अनुसार १८ नम्बर वडाभित्रका ७८ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको छ । उनले भने,‘सराङकोट टावरको ५६ र लभ्ली डाँडा क्षेत्रमा २२ रोपनी जग्गा व्यक्तिले अतिक्रमण गरेका थिए तर त्यसलाई हामीले संरक्षण गरेका छौं ।’

उनले वडाभित्रका कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने समेत बताए ।

महानगरभित्रका सार्वजनिक जग्गा संरक्षण वर्षको रुपमा घोषणा गरी काम भइरहेको महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

‘महागनरभित्रका सार्वजनिक जग्गाको विवरण संकलन गरेका छौँ,’ उनले भने,‘व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाउने छैनन् र महागनरले संरक्षण गर्छ ।’ वडाध्यक्ष थापाले विन्ध्यवासिनी सराङकोट सडक फराकिलो बनाउने अभियानसमेत सुरु गरेको बताए ।

सडक फराकिलो बनाउने कामलाई सहज बनाउन एकतर्फी सवारी साधन सञ्चालन गरिएको बताए । सवारी साधनलाई सराङकोट जान दिएको छ तर फर्कन बागलुङ पदेली सडकको प्रयोग गर्नुपर्छ ।