छापा मार्दैनौं, अपराधीलाई भाग्नचाहिँ दिन्नौं : रवि लामिछाने

नेपाली पत्रकारिताको कुरा गर्ने बित्तिकै नछुटने केही नाममा पर्छन्, रवि लामिछाने र विजयकुमार । दुवैका आफ्नै विशेषता र फ्यान छन् । स्वान्त सुखायका लागि लेख्ने र परोपकारी कर्म पनि पत्रकारिता गर्नुपर्छ भन्ने विजयकुमार भन्दा रवि केही भिन्न छन् ।


पोखरामा जारीआइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा दुवै सोमबार गफिए । रविले आफूहरुले छापा मार्ने गरेको भन्ने आरोपमा सत्यता नभएको दाबी गरे । उनले भने, ‘मेरो अफिस नजिकै सिंहदरबार छ, प्रधानमन्त्री कार्यालय छ, त्यहाँ जनताको पहुँच छैन । मेरो अफिसमा त्यहाँ भन्दा बढी लाइन हुन्छ ।’ उनले यसलाई दुखद् भन्दै सरकारलाई अनुरोध गरे, ‘जनताका सञ्चारमाध्यम सिंहदरबार बाहिर ल्याइदिनुस् ।’


जनताको सहज पहुँच भएकाले आफूसम्म धेरै गुनासो र अनियमितताका केस आउने उनले सुनाए । उनले भने, ‘हामी छापा मार्दैनौं, अख्तियार, प्रहरी, प्रशासनलाई खबर गरेर सँगै लैजान्छौं । तर कुनै अपराधी प्रशासन आउनुभन्दा पहिल्यै भाग्न लाग्यो भने छाड्दैनौं ।’

यो सेसनमा पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवम् जीवन जगत्बारे छलफल गरे । सँगै राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरे । विजयकुमार समय रवि लामिछानेहरुको भएको टिप्पणी गर्दै थपे, ‘अडियो भिजुअलमा यत्रो शक्ति छ । यसको सदुपयोग गर्नुस् ।’