पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति

श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा ७ वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो ।


मन्त्रालयको निर्णय बमोजिम पुुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा सुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ ।

श्रम कार्यालय जनकपुरमा १ जना कार्यालय सहयोगीसहित जम्मा ३ कर्मचारी कार्यरत छन् ।
श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा सुरु गर्न आन्तरिक तयारी भइरहेको बताए । श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताए ।