
अब सहकारी संस्थाले पनि निक्षपमा मनपरी ब्याज दिन नपाउने भएका छन्। यसका लागि सहकारी संस्थाहरूले पनि निक्षेपको ब्याजदर तोक्नुपर्ने भएको छ ।
उच्च स्तरीय वित्तीय समन्वय समितिको निर्देशन बमोजिम सहकारीले पनि निक्षेपको ब्याजदर तोक्न लागेका हुन्।
मुद्रा र पुँजी बजार अध्ययन गर्न गठित समितिले ब्याजदरमा उतार चढावको कारण सहकारी पनि भएको औंल्याएको छ ।
स्रोतका अनुसार बचत तथा ऋण सहकारी संस्थाले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याजदर नदिन सहकारी विभागले निर्देशन दिएको छ । सोही निर्देशनअनुसार निकट भविष्यमा निक्षेपको ब्याजदर तोक्न लागेका हुन्।
बैंक तथा वित्तीय संस्थाले कम ब्याज दिँदा पैसा सहकारीमा जाने प्रवृत्तिका आधारमा समितिले यस्तो निष्कर्ष निकालेको हो। यसकारण सहकारी संस्थाले दिने ब्याजदरमा पनि अंकुश लगाउनुपर्ने सुझाव समितिको प्रतिवेदनमा छ ।
यही सुझावका आधारमा उच्चस्तरीय वित्तीय समन्वय समितिले सहकारी संस्थालाई निक्षेपको ब्याज दरमा सीमा तोक्न निर्देशन दिएको हो।