आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ : ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ ।

आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका बारेमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्यहरू घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटा लगायतका नेताले साथ दिए ।

तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भनेर कड्किँदै जवाफ दिएपछि बैठकमा चर्काचर्की बढ्यो । बैठकमा सहभागी एक नेताका अनुसार रावल सहितका नेताहरुले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो ।

बैठकमा सहभागी एक नेताले रावलको भनाई उद्धृत गर्दै भने, ‘आत्मालोचना नगरेसम्म हामी छोडदैनौँ, गल्तीलाई गल्ती भयो भनेर हामीले किन स्वीकार नगर्ने ?’ अध्यक्ष ओली पनि के कम । ‘पार्टी र सरकार प्रमुखको हैसियतले एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएर मैले कुनै गल्ती गरेको छैन’ उनले भने, ‘गल्ती नै गरेको कामका कारण आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ ।’