भूकम्पपछि घर पुनर्निर्माणको रकम लिएर पनि घर नबनाएका पर्वतका लाभग्राहीले रकम फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्रिय पुनर्निर्माण आयोजना कार्यान्वयन इकाइ पर्वतका अनुसार पर्वतका ५ जनाले पहिलो किस्ता वापतको ५० हजार फिर्ता गरेका हुन् ।
रकम फिर्ता गर्नेमा फलेवास नगरपालिका ३ शंकरपोखरीका १ जना, कुश्मा ९ कटुवाचौपारीका १ जना,कुश्मा पिपलटारीका २ जना र कुश्मा ११ पुकुवाका १ जना छन् । राष्ट्रिय पुनर्निर्माण आयोजना कार्यान्वयन इकाइ पर्वतका प्रमुख जगदीश शर्माले घर बनाउन नचाहेका कारण रकम फिर्ता भएको बताए ।
उनले भने, ‘जसले पहिलो किस्ता लिएर पनि घर पुनर्निमार्ण गर्न आउँदैन्, उनीहरुले फिर्ता गर्न थालेका छन्,’ शर्माले भने, ‘अनुगममा फेला परे सरकारी सेवावापत पाउने सबै सेवा सुविधा बन्द हुन्छन् । यसरी यहाँका घर निमार्ण गर्न नचाहानेले स्वइच्छाले रकम फिर्ता गर्न आए कुनै समस्या हुँदैन ।’
यहाँ हाल तेस्रो किस्ताको रकम वितरण गर्न थालिएको छ । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पूरा गरेपछि मात्रै तेस्रो किस्ताको रकम पाउँछन् । जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन थालेपछि अन्तिम किस्ता दिइएको हो ।