एट ए साईड फुटबलको ट्रफी सार्वजनिक

एक महिनापछि पोखरको पुरानो टुडिखेलमा हुने बगर भाइखलक एट ए साईड भेट्रान फुटबल प्रतियोगिताको विभिन्न विधाका ट्रफी युके शाखाले प्रायोजन गरेको छ । प्रायोजन गरिएको ट्रफीसहित पदकलाई आयोजक बगर भाइखलक पोखराका अध्यक्ष दिलबहादुर गुरुङले सार्वजनिक गरे ।

पोखराको बगर भाइखलकले विगत सात वर्षदेखि एट ए साईड भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको छ । आठौं सस्करणको प्रतियोगिता माघ ८ देखि १२ गतेसम्म आयोजना गर्ने निर्णय बगर भाइखलकले सार्वजनिक गरिसकेको छ । फुटबलको उदघाटनको दिन माघ ८ गते खेलाडीले ४० वर्ष पुगेको हुनुपर्छ ।

बगर भाइखलकले ब्राण्डिङ गरेको एट ए साईड भेट्रान फुटबल प्रतियोगिता मोफसलका शहरमा विस्तार भइसकेको छ । आठौं रंजित गुरुङ स्मृति बगर भाइ खलक एट–ए साइड फुटबल प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने अभियान छ ।

प्रतियोगितामा कलकत्ता भेट्रान, कन्चनजंगा भेट्रान(सिलगुढी) टिम भारतबाट पोखरा आउने छन् । विरगन्ज, हेटौडा, धरान र काठमाडौंका टोलीले उपाधिको लागि विदेशी टोलीसँग प्रतिस्पर्धा गर्ने उनको भनाई थियो ।

बगर भाइखलकले २०६८ देखि पोखराको पुरानो टुडिखेलमा एट ए साईडको फुटबल प्रतियोगिता शुरुवात गरेको हो । प्रतियोगितामा बिजेता टिमले नगद रु १ लाख र उपबिजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । सातौं सस्करणको उपाधि आयोजकले रक्षा गरेको थियो ।