५ करोडमा मर्दीखोलामा पक्की पुल

कास्कीको माछापुछ्रे गाउँपालिका ९ स्थित मर्दीखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । संघीय सरकारकोे ५ करोड ४ लाख २४ हजार १ सय ७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ ।
पुल शनिबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरे । उनले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताए ।

पुल निर्माणका लागि गत साउन २ गते मृत सञ्जीवनी निर्माण सेवासँग ठेक्का सम्झौता भएको सो पुल २०७६ फागुन ३० गतेभित्र तयार गरिसक्ने सम्झौतामा उल्लेख छ । पुल नहुँदा वर्षायाममा वडाका कुईबाङ, सैंतीखोला, इयुँ, तक्रो, सिदीङ, प्रम्धु तथा घलेलका बासिन्दा यातायातको सम्पर्कबाट विमुख हुने गरेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।

पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले वडाध्यक्ष क्षेत्रीको संयोजकत्वमा वडाका सबै जनप्रतिनिधि सदस्य रहेको अुनगमन समिति निर्माण गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल(जीवन)ले जनप्रतिनिधिको हिसाबले पनि आफूले पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने बताए ।
गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले गाउँपालिकाको समृद्धिसँग जाडिएको पुल तोकिएको मितिमा गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।