बालबालिका बनाइए धर्म परिवर्तनका हतियार

काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो ।


आधा दर्जन बालबालिका शनिबार बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन्् ।


बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको बताउछन.्, ‘ल हेनुहोस्, अङ्कल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए,’ उनले ।

आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले “चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु” भनेर पठाएको बताए । उनीसँगै पनौती र काठमाडाँै इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए ।

“यी किताब बाँडिसकेपछि अङ्कलले चक्लेट किनिदिनुहुन्छ” साइमन नाम गरेका अर्का बालकले खुशी हुँदै भने । बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे ।

यस विषयमा बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरूले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको जिकिर गरे ।