ढोरपाटन गापाको मोबाइल एप्स

ढोरपाटन नगरपालिकाले सहज रुपमा जानकारी र सूचना पु¥याउन मोबाइल एप्स सार्वजनिक गरेको छ ।


मोबाइलमार्फत जनताले घरमै बसेर नगरपालिकासँग सम्बन्धित जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।


मोबाइल एप्समार्फत् नगरपालिकाका सम्पूर्ण गतिविधि हेर्न सकिने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।


नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश भण्डारीले सूचना प्रविधि विभागको प्राविधिक सहयोगमा उक्त मोबाइल एप्स भित्राइएको जानकारी दिए । एप्सको सहयोगमा स्थानीय तहबाट प्रदान गरिने सेवा, सुविधा, नागरिकले सेवा लिनका लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया तथा त्यससँग सम्बन्धित कर्मचारीको जानकारी, योजना तथा कार्यक्रमको विषयमा जानकारी, सूचना, समाचार, आपतकालीन नम्बर, जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क विवरण, वडाहरुको प्रोफाइल, महत्वपूर्ण स्थानको परिचय हेर्न र थाहा पाउन सक्ने सूचना प्रविधि अधिकृत भण्डारीले बताए ।


९ ओटै वडाका जनताले जुनसुकै समयमा आफ्नो वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली लगायत नगरपालिकाबाट सञ्चालन भएका योजनामा भए गरेका समस्या तथा गुनासो दर्ता गर्न सकिने समेत उनले बताए । उक्त एप्स मोबाइलको प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिनेछ ।