तामाङ सुन्दरी माघमा छानिने

मिस तामाङ पोखराको चांैथो संस्करण माघ १२ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्छ ।


तामाङ समुदायका नारीको अन्तरनिहीत प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । सहभागीहरुलाई तामाङ भाषा, संस्कृति र संस्कारका विषयमा पनि प्रशिक्षण दिइने भएकाले यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताइन् ।


कार्यक्रम संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष मोक्तानका अनुसार अहिले प्रतियोगीलाई प्रशिक्षण दिन काम सुरु भएको छ । प्रतियोगीलाई मंसिर २९ गते १ समारोहबीच तालिम शुभारम्भ गरिएको थियो ।


प्रतियोगितामा देशभरबाट १६ जना तामाङ समुदायका युवती सहभागी छन् । मिस तामाङ पोखरा २०१९ का बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजारको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।


फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार र सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर च्वाइसमा १ जना प्रतिस्पर्धीलाई नगद १५ हजार प्रदान गरिने संयोजक मोक्तानले बताइन् ।