दलदलमा खसेर शुक्रबार १ गैँडा मरेको छ ।
भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३ सय मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करीब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार घाइते घलेको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
डिलबाट खसेर दलदलमा परेको घाइते गैँडाको उद्धार गर्ने क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । अन्दाजी १० वर्षको पोथी गैँडा दिउँसो सामुदायीक वनबाट निस्किएर बस्ती प्रवेश गरी मान्छेलाई लखेटेको थियो ।
चालू आर्थिक वर्षको हालसम्म निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले २० गैँडा मरेका छन् भने गत आर्थिक वर्षमा २६ गैँडा मरेका थिए ।