पोखरेलीले शुक्रबार फरक स्वादको नाटक हेरे । चीसो दिनमा पोखरा उद्योग वाणिज्य संघको हलमा पुगेका रंगप्रेमीको मन नाटकको आरम्भमै थप चिसियो । अन्धकार रंगमञ्चमा कुनै भावभूमिका बिनै एकाएक राक्षसहरु पो देखिए ।
लास रोपेर, लास फुलाएर, फलाउने भूतमार्फत पछिल्लो समय भत्किँदै गएको मानवतामाथि कलाकारले कडोर व्यंग्य प्रस्तुत गरे । गत वर्ष गठन भएको ओथेलो नाटक समूहले यो नाटक मञ्चन गरेको हो ।
नाटक शनिबार पनि प्रदर्शन हुँदै छ । नाटकमा देवेन्द्र पुन मगर, सबु पाठक, शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम, सुष्मिता लगायतले अभिनय गरेका छन् ।
पोखरेली रंगमञ्चका हस्ती कृष्ण उदासीले लेखेको नाटक समूहका अध्यक्ष आशीष अधिकारीले निर्देशन गरेका हुन् । जयगानबाट उनले निर्देशनसमेत सुरु गरेका छन् । नाटककार उदासीले आरम्भमै जटिल नाटक सफलतापूर्वक प्रदर्शन गरेर समूहले मीठो सुरुआत गरेको बताए । उनले भने, ‘कलाकार नयाँ जस्तो लागेन, फरक र गज्जब अभिनय देखियो ।’
नाटकमा पृथ्वीमा भएका विभिन्न विकृतिसँगै मानिसहरु अर्कै संसार पुगेका छन् । त्यहाँ लासहरु रोपिने, फूल्ने, फल्ने संसारमा मान्छेकै मासु खाइन्छ । त्यस्तो संसारबाट विद्रोह गर्दै अन्त्यमा मानवकै जीत देखाइएको छ । नाटकमा प्रयोग भएको कोरस निकै भिन्न छ ।
यसमा जंगली जनावर वाघ, बाँदरका प्रवृत्ति पनि देखाइएको छ । समूहका अध्यक्ष अधिकारी आफूहर रंगमञ्चमा नयाँ अध्याय थप्न लागेको बताउँछन् । उनले भने, ‘फरक, जटिल नाटक देखाउने प्रयास गरेका छौं । हामी यहाँहरुको सुझावको अपेक्षा गर्दछौं ।’
नाटक शनिबार पनि प्रदर्शन हुँदै छ । नाटकमा देवेन्द्र पुन मगर, सबु पाठक, शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम, सुष्मिता लगायतले अभिनय गरेका छन् । समूहलाई पोखराका रंगमञ्चका अनुभवी व्यवस्थापक हेमन्त हितैषीले व्यवस्थापनमा साथ दिएका छन् ।