पुजारीले भक्तजनलाई विष हालेर प्रसाद दिएपछि…

भारतको कर्नाटकको एक मन्दिरका पुजारीले प्रसादमा विष हालेर बाँडेका पुष्टि भएको छ । घटनामा १५ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य ९० जना विरामी छन् । ती मध्ये २० जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

घटना कर्नाटक राज्यको चामराजनगरको हो । महादेश्वरा हिल सलुरु मठका महन्त र उनका तीन सहयोगीलाई प्रसादमा विष मिसाएको आरोपमा पक्राउ गरिएको छ ।

यही १४ डिसेम्बरमा यहाँको एक मन्दिर शिल्यान्यासमा प्रसाद बाँडिएको थियो । प्रसाद खाएपछि १५ जनाको मृत्यु भयो । प्रहरीले अनुसन्धान गर्दा भक्तहरुको संहार गर्ने षड्यन्त्र भएको खुलेको थियो । षडयन्त्रका लागि महन्त र उसका सहयोगीले प्रसादमा १५ बोतल किटासक विषादी मिसाएका थिए । 

आईजी केभी शरत चन्द्रले ५२ वर्षीय महन्त पट्टदा इम्मादि महादेश्वरा स्वामीका उर्फ देवन्ना बुद्धि र उनका तीन सहयोगी (एक महिला, उसका श्रीमान र एक साथी) लाई पक्राउ गरिएको छ ।

पक्राउ परेका ४ जनामाथि हत्या, हत्याको प्रयास तथा आपराधिक षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

गएको अक्टूबरमा ट्रस्टले मठमा गोपुरम (विशाल प्रवेश द्वार) बनाउने निर्णय गरेको थियो । महन्तलाई यसबारेमा जानकारी गराइयो । तर, उनी यसलाई तामिलनाडुका प्राविधिकबाट बनाउन चाहन्थे । महन्तले यसमा डेढ करोड रुपैयाँ लागत लाग्ने बताउँथे । 

महन्तमाथि एक पटक रुपैयाँ कमाउने गरेको आरोप लाग्यो । ट्रस्टले उनको योजना खारेज गरिदियो । ट्रस्टले त्यसको सट्टा ७५ लाखमा एक् मन्दिर बनाउने निर्णय गर्यो । १४ डिसेम्बरमा सोही मन्दिरको शिलान्यास थियो । 

प्रहरीले अपमानको बदला लिन महन्तले शिलान्यास कार्यक्रममा प्रसादमा विष मिलाउने षडयन्त्र गरेको बताएको छ । ३५ वर्षीया एक महिलाले महन्तलाई १५ बोतल किटनासक विषादी दिइन् । ती महिलाका श्रीमान र साथीले सो विषादी प्रसादमा मिलाए । 

प्रहरीले अन्य व्यक्ति पनि पक्राउ पर्न सक्ने बताएको छ । २२ अधिकृतसहित ४० प्ररहीको टीमले घटनाको ६ दिन भित्रै खुलासा गरेको हो । 

प्रहरीका अनुसार अप्रिल २०१७ सम्म महादेश्वरा मठ महन्त देवन्ना बुद्धिको नियन्त्रणमा थियो । यसबाट उसले निकै पैसा कमायो । यसपछि स्थानीयहरुले मन्दिर व्यवस्थापन ट्रस्ट अन्तगर्त ल्याए । यसबाट महन्त असन्तुष्ट भए । मन्दिरको नियन्त्रणको विषयलाई लिएर आन्तरिक द्वन्द्व हुन थालेको थियो ।