पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पाैडेलले पोखराका ७५ जना लक्षित वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छिन् । विभिन्न अभियान सञ्चालन गर्दै अाएकी पाैडेलकाे अगुवाइमा सहारा आधारभुत विद्यालयका ७५ जना विद्यार्थीलाई विहीवार सुइटर, टोपी मोजा, खेलकुद तथा शैक्षिक सामग्रीसहित सेनेटरी प्याड वितरण गरिएको हो ।
सो अवसरमा स्वास्थ्य सचेतना जागरण कार्यक्रम समेत गरियो । लक्षित वर्गका विद्यार्थीलाई न्यानो कपडा अभियान–२०७५ को सहयोगमा सामाजिक जागरणका लागि नारी अभियानले उक्त सामग्री वितरण गरेको हो । प्रदेश सांसद मीना गुरुङले लक्षित वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरणमा आफ्ले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
उनले विद्यार्थीहरुलाई ठूलोभन्दा असल बन्नुपर्ने भन्दै असल बन्न नैतिक शिक्षा आत्मअनुसासनको आवश्यक रहनेमा जोड दिइन । साथै आगामी दिनमा यस्ता अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाइन ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल शाहीले सरकारले गर्नुपर्ने कार्य अभियान मार्फत गरिएको भन्दै अभियान निरन्तर रुपमा अगाडी वढ्नुपर्नेमा जोड दिए । गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक,अभिभावक र विद्यार्थीले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यालय प्रध्यानाध्यापक लोचना अधिकारीले लक्षित वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालय भएर पनि चुनौती बाबजुद सबैको सहयोगमा विद्यालय संचालन भैरहेको बताइन् । सो अवसरमा अभियान सदस्य प्रभा जमरकट्टेलले स्वागत तथा सदस्य कान्ता पौडेल अधिकारीले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा वडा ९ का सदस्य नन्दराम गिरीले वडाको विद्यालयमा सहयोग गरेकोमा आयोजक टिमलाई धन्यवाद दिए भने विद्यार्थी पूजा बस्नेतले जाडोमा कठ्याग्रिदै आउनुपर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर पढ्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
गरिब तथा विपन्न वर्गका विद्यार्थी पढ्ने सहारा स्कुलमा हाल २ सय ७२ जना विद्यार्थी अध्ययनरत छन् । न्यानो कपडा अभियानअन्तर्गत यो दोश्रो कार्यक्रम हो ।