वैशाख १८ देखि तातोपानी नाका सञ्चालनमा आउने

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ ।

नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताउनुभयो ।

काठमाडौँबाट १११ किलोमिटर उत्तर पश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् ।

सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नो तर्फको सडक लगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपाल तर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो । रासस