लिलिबिली फिल्मका निर्माता एवं बितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ । संघका महासचिव रोज राणाले यस कुराको पुष्टी गर्दे उनलाई पदबाट बर्खास्त गरिएको बताए । शाहीले संघको विधि र विधान विपरित काम गरेको आरोप लगाईएको छ ।
केही समयदेखि कुटपिट लगायतका बिवादमा पनि पर्दे आएका शाही नियमित बैठकमा तीन पटक उपस्थित नभए विधानअनुसार बर्खास्त गरिएको हो ।
शाहको बर्खास्तीको बारेमा राणा भन्छन् “उहाँ संघको नियमित बैठकमा उपस्थित हुनुभएन, संघको नाम बदनाम हुने गरि निर्माता तथा हल सञ्चालक माथि अभद्र व्यबहार गर्नुभयो, पटक-पटक संघले छलफलका लागि बोलाउँदा समेत उपस्थित हुनुभएन” ।
“जसकारण उहाँलाई बर्खास्त गर्न संघ बाध्य भयो” । लिलिबिली फिल्म को हिसाब-किताब पारदर्शी रुपमा नदेखाएको भन्दै निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएपछि त्यस विषयमा बुझ्न छलफलका लागि निर्माता संघको न्यायिक समितिले पटक-पटक बोलाए पनि निर्माता शाही उपस्थित नभएको उनले बताए । संघलाई नै बेवास्ता गरेको भन्दै शाहीलाई बर्खास्त गर्नुको विकल्पको नरहेको बताए ।
उनलाई स्पष्टीकरणका लागि पत्र पनि काटिएको तर शाहीले त्यसको पनि बेवास्ता गरेको राणा बताउँछन् ।
केही समय अगाडि लिलिबिली निर्माता शाहीले निर्माता र हल सञ्चालक माथि हातपात गरेका थिए । यतिबेला लभ स्टेशन फिल्म समेत निर्माण गरिरहेका शाहीले संसार आफ्नै , पराई ,कहाँ छौ कहाँ जस्ता फिल्ममा लिड रोलमा अभिनय समेत गरेका छन् ।