सुन्तला किसानलाई परिचयपत्र

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तला खेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाई सुन्तला जात फलफूल जोनले व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो ।

किसानलाई व्यावसायिक रूपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षमा जिल्ला भरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ ।

“सुन्तला जोन क्षेत्र भित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छौँ ”, उनले भने । परिचयपत्र लिन किसानले निवेदन सँगै दुईप्रति फोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनुपर्ने व्यवस्था गरिएको छ

। परिचयपत्र लिन चाहने किसानले कम्तीमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलो जातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले जानकारी दिए ।