
असोज ७ गते साँझ बिस्कुट किन्न निस्किएकी बालिका साँझ घर फर्किइनन् । छिमेकी एक आपराधिक मनोवृतिका युवाको हातबाट मारिइन् । नसामा लठ्ठ परेर बलात्कार गर्न खोज्दा नदिएपछि घाँटी अठ्याएर क्रूरतापूर्वक हत्या गर्ने पोखरा २२ पुम्दीपुम्दीका कुसुम पौडेलको पूरै जीवन अब जेलमै जानेछ ।
श्रीयाका बाबुले अर्की बिहे गरेपछि उनी मामाघरमा बस्थिन् । बालिका बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुुसुमलाई १ जिल्ला अदालत कास्कीले जन्मकैद सजाय सुनाएको छ । श्रीयाको बलात्कारपछि हत्या गरेको ठहरेकाले पौडेललाई बुधबार जन्मकैद फैसला भएको हो ।

असोज ७ गते घरबाट साँझपख निस्केकी श्रीयाको लास ८ गते झाडीमा भेटिएको थियो । असोज ८ गते अनुसन्धानका क्रममा पक्राउ परेका कुसुमले पैसा दिएर फकाएर यौन सम्पर्क गर्न नमानी चिच्याएपछि घाँटी थिचेर मारेको प्रहरीलाई बयान दिएका थिए ।
बेहोस भएपछि कुसुमले अनुहार र टाउकोमा ढुंगाले हानेको समेत बयान दिएका छन् । कुसुमका २ सन्तान र श्रीमती छन् ।
भदौ १ गते नयाँ मुलुकी संहिता कार्यान्वयनपछि कास्की जिल्ला अदालतले गरेको जन्मकैदको यो पहिलो फैसला हो । नयाँ संहितामा जन्मकैद २५ वर्ष हुने व्यवस्था छ तर जघन्य अपराधमा भने जीवनभर कैदमा बस्नुपर्ने प्रावधान छ ।
मीनबहादुर विकको जाहेरीले यो मुद्दामा जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहले बुधबार यो फैसला सुनाएका हुन् । फैसलामा पीडित परिवारलाई कुसुमको अंशबाट कट्टा हुने गरी १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।