अप्रिलदेखि जापानले नेपाली कामदार लैजाने तयारी

२०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोवास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआइसकेको बताए । ‘अनौपचारिक रूपमा नेपाली कामदार समेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने, ‘नेपाललाई समेत समावेश गर्न हामीले कूटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।’

गत साता मात्र संशोधन भएको अध्यागमन नियन्त्रण कानुनले बढीभन्दा बढी विदेशीलाई राष्ट्रिय श्रम शक्तिमा जोड्ने योजना जापानले अगाडि सारेको छ ।

जापानको अध्यागमन नीतिमा आएको परिवर्तनलाई बेलायतको पुरानो पत्रिका टेलिग्राफले भने नाटकीय भनेको छ । अध्यागमन कानुनमा गरिएको सुधारअनुसार नयाँ भिसा प्रणाली सञ्चालनका लागि आधारभूत नीतिको मस्यौदासमेत तयार भइसकेको बताइएको छ ।

कार्यक्रमअनुसार जापानले नयाँ भिसा श्रेणीअन्तर्गत ज्येष्ठ नागरिकको स्याहार–सुसार, कृषि, निर्माणसहित १४ वटा क्षेत्रमा १८ वर्ष उमेर पुगेका ३ लाख ४५ हजार विदेशी कामदारलाई स्वीकार गर्ने तयारी गरेको छ ।जापानको विदेश मन्त्रालयले कामदार भिसाका लागि विभिन्न ९ मुलुकमा जापानिज भाषा परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

जसमध्ये भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार र कम्बोडिया गरी सातवटा मुलुकमा आवश्यक प्रबन्ध समेत मिलाइसकेको छ ।

अन्य दुई मुलुकमा मंगोलिया र नेपाल रहेको जापानको एनएचके अनलाइनले खुलाएको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदार सहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ ।

जसमा निर्माणसहित चौध किसिमका उद्योगहरूलाई पहिलो श्रेणीमा राखिएको छ । नयाँ भिसाका लागि कामदारले अनिवार्य रूपमा सीप सहितको भाषा परीक्षा पास गर्नुपर्नेछ । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।