दृष्टिविहीनलाई सजिलो हुने शिक्षा माग

नेत्रहीन युवाले समग्र दृष्टिविहीनको शिक्षामा  पहुँच पुर्‍याउन दृष्टिविहीन शिक्षा प्रणाली विकास गर्न माग गरेका छन् । उनीहरुले अपांगता शिक्षा प्रवद्र्धन समन्वय इकाइको व्यवस्था गर्न समेत माग गरेका छन् ।

नेत्रहीन युवा संघ नेपालले मंगलबार आयोजना गरेको दृष्टिविहीन मैत्री शिक्षा प्रणाली विकासका लागि स्थानीय तहले सम्बोधन गर्नुपर्ने सवाल विषयक छलफलमा संघका अध्यक्ष कलाधर भण्डारीले अपांगको विविधता र अवस्थाका आधारमा पाठ्यक्रम, प्रश्नपत्र र परीक्षाकेन्द्रको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘अपांगको अवस्था र सक्षमताको आधारमा परीक्षण र मूल्यांकन प्रणालीको विकास गर्न आवश्यक छ, ’अध्यक्ष भण्डारीले भने, ‘छात्रवृत्ति, कक्षा कोठा, पाठ्यक्रम, आवास व्यवस्थापन गर्दा लैंगिक र अपांग मैत्री बनाउनु जरुरी छ ।’

अध्यक्ष भण्डारीले नयाँ शिक्षा प्रणालीमा अपांगको प्रतिनिधित्व आवश्यक भएको बताए । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेश सरकारले अपांगमैत्री नीति निर्माण र भौतिक संरचना निर्माण गर्दा सबैको पहुँच सुनिश्चित गर्ने बताइन् ।

सरोकारवालाको परामर्शमा अपांगमैत्री नीति बनाएको उल्लेख गर्दै मन्त्री पुनले अपांगको सशक्तीकरण र राज्यका निकायमा प्रतिनिधित्व सुनिश्चित गर्नमा ध्यान दिने बताइन् । मन्त्री पुनले नीति निर्माण र भौतिक संरचनालाई अपांगमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीको निजी सचिवालयका प्रमुख डिल्लीराज सिग्देलले अपांगको पहिचान, प्रतिनिधित्व र पहुँचमा ध्यान दिने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, नेपाल नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, नेत्रहीन युवा संघ नेपालका महासचिव रामचन्द्र गैरे लगायतले दृष्टिविहीनका शिक्षा प्रणालीमा भएका समस्याबारे बोलेका थिए ।