अमरसिंहचौरमा पुस २७ देखि महोत्सव

पोखरा महोत्सवको नवौं संस्करण पुस २७ गतेदेखि हुने भएको छ । पोखरा अमरसिंह माविको खेल मैदानमा हुने उक्त महोत्सव माघ ८ सम्म चल्ने क्लबले जनाएको छ ।


महोत्सवकै अवसरमा आयोजक युनाइटेड क्लबले लेखनाथमा बनाइरहेको चिडियाखानासमेत प्रत्यक्ष अवलोकन गर्ने सुविधा दिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले जानकारी दिए । उनले भने, ‘महोत्सव स्थलबाट सशुल्क गाडीको व्यवस्था गरिएको छ ।

चिडियाखाना हेर्न इच्छुक दर्शकलाई अवलोकन गराउन लैजाने छौं ।’ चिडियाखाना बनाउन क्लबले ४५ लाख ८५ हजार रुपैयाँ सहयोग गरेको छ ।


क्लबका अध्यक्ष लालकाजी गुरुङले महोत्सवका प्रत्येक टिकटबाट १ रुपैयाँसमेतचिडियाखानासँग सेती नदी संरक्षण खर्च गर्दै आएको सुनाए । चिडियाखानाको अवलोकनसँगै महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादन, हस्तकला सामान, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ संस्थाबारे जानकारी, पर्यटन प्रवद्र्धनका सामग्री प्रदर्शनी एवं जानकारी, नेपाली संस्कृति झल्कने मौलिक नृत्य प्रस्तुति रहने संयोजक शान्तबहादुर थापाले बताए ।


महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी मुलुकलाई समृद्धितिर लैजाने क्लबले दाबी गरेको छ । थापाले भने, ‘अग्नि, चट्याङ, भूकम्प, हुरीबतास, हुलदंगाले हुन सक्ने क्षतिलाई मध्यनजर गरेर बिमाको व्यवस्था पनि गरेका छौं ।’

२ सय ५० वटा स्टल रहने महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य छ । १ करोड २६ लाख १० हजार रुपैयाँ अनुमानित आम्दानीको लक्ष्य रोखेको आयोजकले ३८ लाख बचत हुने आयोजकले जनाएको छ ।