मणिमुकुन्द भलिबल क्लब रुपन्देही तेस्रो दिनमा आईपुग्दा पहिलो जित दर्ता गर्दै तीन अंक जोड्दा ढोरपाटन स्पोर्टस क्लब भने अझै अंक विहीन छ ।
पोखरामा आयोजित चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार मणिमुकुन्दले ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै खातामा तीन अंक जोडेको छ । २५–२३, २५–२० र २५–१६ को सेटमा पराजित गर्दै मणिमुकुन्दले सम्भावित आशालाई जिवितै राखेको छ ।
उता नेपाल पुलिस क्लबलाई निर्णायक सेटमा पराजित गर्दै हेल्प नेपालले आफनो खातामा तेस्रो जित दर्ता गरेको छ । दुई सेटले पछि परेको अवस्थालाई उल्टयाउँदै हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौंले पुलिसलाई पाँचौ सेटमा पराजित गर्दै दुई अंक जोड्यो ।
पहिलो २५–२१ र दोस्रो २५–२० सेट लिएर नेपाल पुलिस क्लबले चौथाो जित निकाल्ने योजना बुनेपनि अन्त्यमा पाँचौ सेटमा पुगेर पुलिसको विजय यात्रा रोकियो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक रुपमा टुंगियो । हेल्प नेपालले तेस्रो सेट लिन ३१–२९ को अंकसम्म खेल्नुपर्यो । चौथो सेटमा २५–१९ ले लिदैं खेललाई निर्णायक सेटमा पुर्यायो । अन्तिम टाइब्रेक सेटमा भने हेल्प नेपालले १५–८ मा रोक्दै तेस्रो जित निकाल्यो । पुलिसले हारसँगै १ अंक जोड्यो ।
नेपाल पुलिस क्लब चार खेलसँगै १० अंक छ । हेल्प नेपालले तीन खेलसँगै ७ अंक जोड्यो । आर्मी र शसस्त्र प्रहरीले दुई दुई खेलसँगै समान ६–६ अंकमा छ ।
source : kheladinews.com