निजी तथा आवासीय विद्यालयको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स) द्वारा आयोजित चौथो खेलकुद महोत्सव २०७५ मंगलबार सकिएको छ ।
१ साता चलेको महोत्सवमा वेलनन एकेडेमीले उपाधि उचालेको छ । वेललनले युनिप्स खेलकुद महोत्सवमा लगातार तेस्रो पटक उपाधि उचाल्दै उपाधिमाथि नै कब्जा जमाएको छ । चौथो खेलकुद महोत्सवमा वेललनले १ सय ४३ अंक बटुल्यो ।
दोस्रो भएको एकता सेकेन्डरीले १ सय १३ अंक, तेस्रो कालिका इङलिस बोर्डिङले ९० अंक र स्माइल स्मल हेभेनले ६८ अंकसहित सान्त्वना स्थान पाए ।
फुटबल छात्रतर्फ वेलनन एकेडेमी पहिलो, पिनाकल एकेडेमी दोस्रो र कालिका इङलिस बोर्डिङले तेस्रो भए । भलिबल छात्रतर्फ एकता आवासीय, स्माइल स्मल हेभेन र वेलनन क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन । छात्रा भलिबलमा होली एन्जल, एकता आवासीय र कालिका इङलिस बोर्डिङ क्रमश पहिलो, दोस्रो र तेस्रो बने ।
कब्बडी छात्रतर्फ पिनाकल एकेडेमी प्रथम, गेफ सेकेन्डरी द्वितीय र वेलनन तृतीय भएका छन् भने छात्रातर्फ जनकल्याण, होली एन्जल र ज्ञानकुञ्ज, क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन । कब्बडी खेलको निमावितर्फ ज्ञानकुञ्ज, कालिका र होलील्यान्ड क्रमश प्रथम, द्वितीय र तृतीय भए ।
समापन कार्यक्रममा विजेता विद्यालय तथा खेलाडीलाई शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, युनिप्सका संस्थापक अध्यक्ष धु्रव गिरी, प्रथम उपाध्यक्ष विश्वराज खनाल लगायतले पदक, ट्रफी र प्रमाणपत्र वितरण गरे ।
युनिप्स नेपालका अध्यक्ष शान्ताबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख सुवेदीले खेलकुद सभ्यताको एक अंग भएकाले पनि खेलकुदमा सहभागिता नै महत्वपूर्ण हुने बताए । कार्यक्रममा कास्की जिल्ला खेलकुुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले पनि बोलेका थिए ।
संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स) द्वारा आयोजित चौथो युनिप्स खेलकुद महोत्सवमा १८ विद्यालयका ३ हजार विद्यार्थीले विभिन्न खेलका ४७ वटा इभेन्ट्समा सहभागी थिए ।