म्याराथनलाई युकेबाट एकै दिनमा १५ लाख

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा हुने म्याराथनका लागि युकेमा च्यारिटी डिनरमार्फत् १५ लाख भन्दाबढी नगद एकै दिनमा संकलन भएको छ ।

एकै दिनमा सोचेभन्दा बढी रकम संकलन भए पछि आयोजक उत्साहित भएको छ । पोखरेली मञ्चले यूकेमा म्याराथन सफल बनाउन र खेलकुदमार्फत् पोखरामा पर्यटन प्रवद्र्धन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो ।

पोखरेली मञ्च युके म्याराथनका लागि अन्तर्राष्ट्रिय पार्टनर समेत हो । फागुन ७ गते आयोजना हुने १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि बेलायत स्थित नेपाली संघ संस्था र शुभेच्छुकले खुलेर सहयोग गरेका छन् ।

भूपू खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले बेलायतमा रहेका नेपालीले पोखराको खेलकुद र सामाजिक विकासमा गरेको सहयोगको प्रंशसा जति गरे पनि कम नै हुने बताएका छन् ।

यूकेको यो चयारिटी डिनर पश्चात पोखरामा मञ्चका आजीवन सदस्यहरुको सम्मानमा समेत च्यारिटी डिनर कार्यक्रमको आयोजना हुने भएको भूपू खेलाडी मञ्च नेपालले जनाएको छ ।

युकेमा भएकोच्यारिटी डिनरमा एनआरएनए युके र केन्द्रीय पदाधिकारी, तमुधिं युके, सहारा युके लगायत संघसंस्था र शुभेच्छुकले सहयोग गरेका थिए । पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ च्यारिटी डिनरका संयोजक तथा मञ्चका कोषाध्यक्ष कमल गुरुङले म्याराथन सफल पार्न सहयोगी जुटेको भन्दै आभार व्यक्त गरे ।

एनआरएनए युके पूर्व अध्यक्ष सूर्य गुरुङको संयोजक रहेको समूहले पोखरा रंगशालाको पर्खाल निर्माणमा पनि बेलायतबाट ५० लाख रुपैयाँ प्राप्त भएको थियो ।