काहुँमा दृश्यावलोकनसँगै महोत्सवको मज्जा


तेस्रो काहुँ धरहरा महोत्सव आफन्त भेटघाटस्थल बनेको छ । चिसो मौसमको बाबजुद पनि विभिन्न ठाउँबाट दर्शक महोत्सवस्थल पुग्ने गरेका छन् । काहुँडाँडामा रहेको काहुँ धरहराबाट पोखरा लगायत आसपासको सुन्दर दृश्य तथा मनोरम हिमाल देख्न सकिने हुँदा पनि दर्शक महोत्सव आउने गरेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए ।


जारी महोत्सवको चौथो दिन सोमबार चर्चित हास्य कलाकार जितु नेपालले दर्शकलाई मनोरञ्जन दिए । सालैजो भाकाका गायक राजु गुरुङले दर्शक नचाए भने स्थानीय कलाकारले पप कन्सर्ट प्रस्तुत गरे ।


लोकदोहोरी गायक जीवन दाहाल, सरला पाण्डे, सीता केसी, केशव देवकोटा, रामजी पौडेल, लक्ष्मी नेपाली, श्रीराम अधिकारी र सरस्वती परियारले आफ्नो प्रस्तुति राखेका थिए । मंगलबार युवा पुस्ताकी चर्चित गायिका ज्योति मगरले दर्शकलाई मनोरञ्जन दिने भएकी छन् ।

अन्य कलाकारमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, विष्णुहरि ढुंगाना, सरला पाण्डे, अमर धिताल, कमल गैह्रे, सीता थापा, श्रीराम अधिकारीको प्रस्तुति रहनेछ ।


महोत्सवको थप आकर्षणमा जादुगर बलराम सरकारको जादु हेर्न पाइनेछ भने रत्यौली गीत प्रतियोगिता अन्तर्गत देउराली आमा समूह र कमरेपानी आमा समूह काहुँबीच प्रतिष्पर्धा हुनेछ । दोहोरीगीत प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, हेमजा र सुमन केसी समूहबीच हुने सांस्कृतिक कार्यक्रम संयोजक रामकृष्ण बास्तोला गोर्खालीले जानकारी दिए ।


पोखरा ११ काहुँडाँडामा जारी महोत्सव पुस ८ गतेसम्म चल्नेछ । महोत्सवस्थल पुग्न पोखरा रानीपौवास्थित दूरसञ्चार कार्यालय अगाडिबाट प्रत्येक आधा घण्टामा बस जाने व्यवस्था मिलाइएको यातायात व्यवस्था समिति संयोजक सु. इन्द्रबहादुर गुरुङले बताए ।