बागलुङको सिगानामा तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी अगाडि बढाइएको छ । गणेश व्यावसायीक कृषि सहकारीको आयोजना र बागलुङ नगरपालिका ८ सिगानाको सहआयोजनामा हुन लागेको उत्सवको तयारीलाई तीव्रता दिइएको हो ।
स्थानीय सुन्तलाको बजारीकरण गर्नका लागि आगामी पुस ६ गतेदेखि १० गतेसम्म तेस्रो सुन्तला उत्सव गर्न लागेको मूल आयोजक समितिका उपसंयोजक शिव खड्काले बताए । बागलुङको सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको सिगानामा उत्पादन गरिएका सुन्तलालाई बजारीकरण र किसानलाई सुन्तलाप्रति आकर्षण गर्नका लागि महोत्सव गरिएको हो ।
सुन्तलालाई प्राथमिकता दिइएको उत्सवमा सिगानामा उत्पादन हुने गोलभेडा, काउँली, लगायत अन्य कृषि सामग्री पनि प्रदर्शनी गरिने मूल संयोजक तथा गणेश व्यावसायीक कृषि सहकारी अध्यक्ष रामबहादुर खड्काले बताए ।
सिगानाबाट गत वर्ष २५ लाख बराबरका सुन्तला बोटबाटै बिक्री भएको बागलुङ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजन जिसीले बताए ।
गतवर्ष सुन्तला महोत्सवको प्रचारबाट पोखराका व्यावसायीले सुन्तला बगैचाबाटै किनेर लगेकाले राम्रो बिक्री भएको जानकारी दिँदै वडाध्यक्ष जिसीले यस वर्ष सुन्तलाको बिक्री बढ्ने अनुमान गरिएको बताए । सिगानामा सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भई हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला जोन म्याग्दीलेसमेत सिगानालाई सुन्तला जोन क्षेत्रभित्र समावेश गरेको बागलुङ नगरपालिका ८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए ।
उत्सव गर्न ८ लाख खर्च र १० लाखसम्म आम्दानी गर्ने लक्ष्य छ । सुन्तला उत्सव सफल बनाउनका लागि विदेशमा रहेका सिगानाबासीले हालसम्म ५ लाख रुपैयाँ सहयोग पठाइसकेको उपसंयोजक खड्काले जानकारी दिए । खड्काले अझैं पनि सहयोग आउनेक्रम जारी रहेकाले र उत्सवमा स्टिलबाट केही रकम संकलन हुने भएकाले सोचे अनुरुपको कारोबार हुने आशा व्यक्त गरे ।
उत्सवमा कृषि प्रदर्शनी, खुला पुरुष भलिबल प्रतियोगिता, खुला सामूहिक नृत्य प्रतियोगिता, प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, आमा समूहबीच रत्यौली प्रतियोगिता, लोक भजन प्रतियोगिता, आमा समूहबीच रस्साकसी प्रतियोगिता र स्थानीय झ्याउरे गीत प्रतियोगिता हुने छन् ।