पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ ।
पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो ।
दोषी ठहर तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिए ।
गौरीकलाको बलात्कारपछि हत्या भएको घटनामा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चैत्र १३ गते जाहेरी दर्ता भएको थियो भने २०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले उक्त फैसला सुनाएको हो । मृतकका हकवालाई रु एक लाख क्षतिपूर्ति भराइलिने गरी अदालतद्वारा फैसला भएको जनाइएको छ ।
सूर्यप्रकाश मावि पञ्चपुरी– ४ सुर्खेत पलैटेबाट २०७४ चैत ८ गते माध्यमिक परीक्षा दिन रोकाया बाबियाचौर पुगेकी थिइन् ।