बागलुङको पश्चिम बडिगाड गाउँपालिकाका भित्रका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि भीर मौरीको मह शिकारलाई उपयोग गर्न लागिएको छ ।बडीगाड गाउँपालिका भित्रका हनी हन्टिङ क्षेत्र पहिचान गर्न र देश विदेशमा प्रचार गरी पर्यटन प्रवद्र्धन गर्नको लागि मह सिकार गर्न सुरु गरिएको हो ।
गाउँपालिकाका अधिकांश ठाउँमा भीर मौरी पाइने भएकाले यसलाई गाउँपालिकाको पहिचानका रुपमा अगाडि बढाउन सकिने सम्भावना देखिएकाले यो सुरु गरिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले बताए ।केही दिन यतादेखि आफू पनि मह शिकार गर्नमा व्यस्त रहेको उनको भनाइ छ ।
बडिगाड गाउँपालिका ३ सिसाखानी टुनीखोलाको तारे भीर क्षेत्रमा मह सिकार चलिरहेको र ४० घार भीर मौरी रहेको सो क्षेत्रमा अहिलेसम्म १६ घारबाट झण्डै ५० किलो मह निकालिएको पाइजाले जानकारी दिए ।भीरमौरीको मह सिकार आफैमा जोखिम र साहसिक हुन्छ । आगामी वर्षको लागि मह सिकार क्षेत्रको पहिचान गर्ने र सहज बाटो निर्माणसँगै व्यवस्थित गर्ने र भीर मौरीको मह सिकार महोत्सवकै रुपमा अगाडि बढाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
पाइजाले भीरमौरी शिकार क्षेत्रको रुपमा बडीगाड गाउँपालिका भित्रका विभिन्न क्षेत्रलाई प्रयोग गर्न सकिने भन्दै प्रदेश सरकार तथा केन्द्र सरकारसँग आवश्यक सहयोगका लागि आग्रहसमेत गरे । अत्यन्त सुरा मह सिकारीको साहसिक काम पर्यटकका लागि नौलो र आकर्षणको विषय भएका कारण पनि यो निकै महत्वपूर्ण शिकार भएको सरोकारवालाको भनाइ छ ।
ज्यान हत्केलामा राखेर भीर मौरीको शिकार गरिने भएकाले यसलाई साहसिक सिकारका रुपमा लिइन्छ ।बडीगाड गाउँपालिकाको सिसाखानी, जलजला, रणसिंह किटेनीका अग्ला भीरमा प्रशस्त भीर मौरी पाइन्छ । प्रतिलिटर १ हजार २ सय रुपैयाँ भन्दा महंगो हुने यो भीर मौरीको मह दम, नशा, ढाडसम्बन्धी रोगको औषधीका रुपमा प्रयोग गरिन्छ ।